काठमाडौंको चोभारमा मोटरसाइकललाई टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा समिर गिरी र अर्का एकजना नाम थर नखुलेका व्यक्ति छन् । मोटरसाइकल चोभारबाट बल्खुतर्फ आउँदै थियो । दुर्घटनालगत्तै प्रहरीले उद्दार गरेर दुई गम्भीर घाइतेलाई बयोधा अस्पताल पुर्याएको थियो ।
तर चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेका थिए । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका-६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।