सल्यानमा भतिजको कुटपिटबाट काकाको मृत्यु

सल्यानमा भतिजको कुटपिटबाट काकाको मृत्यु भएको छ ।

शारदा नगरपालिका-६ बरला बस्ने ३१ वर्षीय हस्तबहादुर विष्ट भनिने डनराज विष्टले काका नाता पर्ने शारदा-२ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टमाथि कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्‍या आरोपमा प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

जेठ ४ गते हस्तबहादुरले शारदा नगरपालिका-६ स्थित राप्ती राजमार्गबाट काका घनश्यामलाई तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुटपिट गर्ने भतिजालाई ५ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा काकाको मृत्यु पनि कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।