काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार सहयोगका लागि पश्चिमा देशहरुलाई फेरि पनि आग्रह गरेका छन्।उनले लडाकु विमान, ट्यांक तथा मिसाइल डिफेन्स सिस्टम माग गरेका छन्। गएराति एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सुरक्षाका लागि बनाइएका हतियार गोदाममा धुलो खाएर बसेको बताएका छन्।
उनले मेसिन गनले रुसी लडाकु विमान खसाल्न नसकिने भन्दै डिफेन्स सिस्टम माग गरे। उनले भने, ‘हाम्रा सहयोगीसँग हतियार छन् र ती गोदाममा थन्किएका छन्।’ उनले नेटोका एक प्रतिशत लडाकु विमान र एक प्रतिशत ट्यांक युक्रेनलाई चाहिएको बताए। उनले नेटो सदस्यहरुलाई रुसको धम्कीले डराएको हो कि भन्ने प्रश्न गरे। उनले रुसले युक्रेन कब्जा गरे युरोपका अन्य देशमा पनि आक्रमण गर्न थाल्ने बताएका छन्।
यसैबीच रुसले गएराति युक्रेनको लविव सहरमा ठूला आक्रमण गरेको छ। सहरका आवसीय भवनहरुमाथि रुसले रकेट आक्रमण गरेको हो। साथै रुसी सेनाले त्यहाँका पेट्रोल भण्डारमा पनि आक्रमण गरेको लविवका अधिकारीले जनाएका छन्।