रुसी सेनाको शव लिन कोही आएनन्, युक्रेनले परिवारको जिम्मा लगाउँदै

वसन्त ऋतुको आगमनसँगै युक्रेनको दक्षिणी भू भाग माइकोलेभमा घाम चर्किन थालेको छ । तर अरु बेला घमाइलो मानिने यही मौसममा तापमान बढ्दै जाँदा अहिले त्यहाँको हावामा मृत्युको गन्ध मात्र आइरहेको छ । ठाउँ(ठाउँमा थुप्रिएका मृत रुसी सेनाहरुको शवले अवस्था भयावह बनाइ दिएको उक्त क्षेत्रका गर्भनर भिटली किम बताउँछन् । उनले सर्वसधारणहरुलाई ती शवहरु संकलन गर्नमा मद्दत गर्न आग्रह गरिरहेका छन् ।

आफ्ना परिवार गुमाएका वासिन्दाहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘जे जस्तो भए पनि हामी राक्षस त हैनौं नि ।’ फेब्रुअरी २४ मा राष्ट्रपति पुटिनले युद्ध सुरु गरेपछि सबैभन्दा पहिलो निशानामा परेको क्षेत्र हो माइकोलिभ । तर जबरजस्ती घुस्ने प्रयास गरेका रुसी फौजलाई युक्रेनी सेनाहरुले कठिन लडाई लड्दै बाहिर भगाएका थिए ।

किमका अनुसार रुसी फौजले आफ्ना मृत सहकर्मीहरुलाई युद्धभूमीबाट लगिरहेका छैनन् । उनले भने, ‘त्यसैले यो क्षेत्रभर जताततै सयौंको संख्यामा बेवारिस शवहरु भेटिन्छन् ।’ यस्तोमा गर्भनर किमले तिनलाई रेफ्रिजिरेटरमा राखेर डिएनए टेस्टिङमार्फत पहिचान गर्नका लागि रुस फिर्ता पठाउन पहल गरिरहेका छन् । तर युद्ध सुरु भएको एक महिना बितिसक्दा अझै पनि त्यस्ता शव कसरी रुस पठाउने भन्ने स्पष्ट भएको छैन ।

रुसमा मृत सेनाको संख्याबारे एकदम कमै उल्लेख गरिएको छ । यति मात्र नभएर रुसले युद्धका वास्तविकताबारे सूचनाको प्रवाह सीमित गर्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ भने बाहिरी मिडियालाई कुनै पहुँच दिएको छैन ।

यसकारण पनि युक्रेनभर कति जति रुसी सेना मारिएका छन् भन्ने तथ्य रहस्यमय नै मानिएको छ । यसअघि रुसको रक्षा मन्त्रालयले ४९८ सेनाको मृत्यु भएको जनाएको थियो । उता पुटिनकै पक्षको रुसी टेबलोइड ‘कोमसोमोलस्काया प्राभ्दा’ ले चाहिँ हालसम्म ९ हजार भन्दा बढी रुसी फौजको मृत्यु भएको दाबी गरेको थियो । तर क्रेम्लिनले सो भनाइ पक्का गरेको छैन र उल्टै यो टेबलोइड ह्याक भएको हुन सक्ने तर्क गरेको हो ।

अमेरिका र नेटोका अधिकारीहरुको अनुमानमा चाहिँ रुसी पक्षको मानव क्षति ३ देखि १० हजारका बीच हुन सक्छ । उता युक्रेनियन अधिकारीहरुको दाबी मान्ने हो भने त कूल मृतकको संख्या अझ बढी, १५ हजार भनिएको छ । युद्धको सुरुवातमा न्युयोर्क टाइम्सका फोटो पत्रकार टाइल हिक्सले खिचेको एक तस्बिरमा ट्याङ्कको नजिकै भर्खरै परेको हिउँले अनुहार र शरीर ढाकेका एक रुसी सैनिकको शव बेवारिस रुपमा लडिरहेको देखिएको थियो । जसले आफ्ना छिमेकीसँग लड्न पठाइएका १ लाख ५० हजार बढी रुसी सेनाहरुहरुको परिचयविहीन अवस्था दर्शाउँछ । उता तिनका परिवार चाहिँ उनीहरुको अवस्थाबारे जान्न आत्तिएका छन् तर कसैले कतै खबर गर्दैन ।

सम्बन्धित समाचार