मुख्यमन्त्री राउतले हटाए ठाकुर-महतो पक्षका १ मन्त्री र ३ राज्यमन्त्री

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् ।

मुख्यमन्त्री राउतले आइतबार साँझ एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।

यसअघि जनता समाजवादी पार्टीले आजै प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो । पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकले संसदीय दलको नेतामा राउतलाई चयन गरेको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।