अफ्रिकाको हर्न अफ अफ्रिका क्षेत्र (जसमा इरिट्रिया, जिबुटी, इथोपिया र सोमालिया पर्छन्) मध्येको सोमालियामा ४० वर्षयताकै सबैभन्दा लामो खडेरीको कारण लाखौं मानिस भोकमरीको भयावह चपेटामा परेका छन्। संयुक्त राष्ट्र संघले हरेक ४ जना सोमालियालीमध्ये १ जना भयानक खडेरीका कारण भोकमरीको चपेटामा परिरहेको जनाएको छ।
करिब १ करोड ६२ लाख ७० हजार जनसंख्या रहेको सोमालियामा सन् २०२२ मा ४६ लाख मानिस भोकमरीको चपेटामा पर्न सक्ने प्रक्षेपण राष्ट्र संघले गरेको छ। सोमालियाको स्थिति बिग्रँदै जाँदा दातृ निकायले युक्रेन संकटमा ध्यानकेन्द्रित गरिरहेका छन्।
खडेरीले गर्दा सोमालियामा आन्तरिक विस्थापन दर बढेको छ। सोमालियालीहरूले उत्तरी क्षेत्र छाडेर अन्यत्र जान थालेका छन्। उनीहरू दक्षिणी भेगमा छाप्रा र झुप्राका शिविरमा बसिरहेका छन्। खडेरीले पानीका मुहान, तलाउ र पोखरी सुकेपछि पानीसमेत खान नपाएर मरेका बाख्रा, ऊँट, भेडा, गाई, गधालगायत जनावरहरूका सिनो मरुभूमिमा यत्रतत्र कुहिइरहेका छन्। दुई महिनायता त्यहाँ करिब ७ लाख जनावर मरेका छन्।
विनाशकारी सलहको आक्रमण, कोभिड १९ महामारीको नकारात्मक आर्थिक प्रभाव र अहिलेको भयानक खडेरी तथा युक्रेन(रुस युद्धले सोमालियाको स्थिति भयावह भएको छ। सोमालियाले उपभोग गर्ने कुल खाद्यान्नको ५३ प्रतिशत युक्रेनबाट आयात हुने गरेको थियो। युक्रेन रुससँग युद्धरत भएयता उसले खाद्यान्न निर्यात बन्द गरेको छ। युक्रेनले ओडेसा बन्दरगाह बन्द गरेपछि खाद्यान्न निर्यात बन्द भएको हो। यसबाट सोमालियामा गहुँ र मटरलगायत विभिन्न खाद्यान्नको अभाव र मूल्य अकासिएको विश्व खाद्य संगठनले बताएको छ।