किन बढ्छ थाइराइड ? के छन् उपचार

पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड रोग चार किसिमका हुन्छन् । थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने । थाइराइड नोडुल वा क्यान्सर । हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म ।
थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ। यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हर्मोन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।

के कारणले हुन्छ थाइराइड ?

हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ। ३०–४० वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो। तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ। प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ । लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ। हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ ।

लक्षण
हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन्।

कम हुँदा:
१.शरीर गलेको महसुस हुने।
२.शरीर सुन्निने।
३.कपाल झर्ने।
४.निन्द्रा नलाग्ने वा बढी लाग्ने।
५.छाला फुस्रो हुने।
६.महिनावारी गडबड हुने।

बढी हुँदा:

१.तौल घट्दै जाने।
२.शरीर तातो हुने।
३.निन्द्रा नलाग्ने।
४.मुटुको धड्कन बढेजस्तो हुने।
५.हात–खुट्टा काँप्ने।
६.चिडचिड पसिना आउने।
७.बढी रिस उठ्ने।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । र, हर्मोन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ ।
थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ । नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन ।

खाना बार्नुपर्छ कि पर्दैन ?

थाइराइड खानेकुराले गर्दा हुने समस्या होइन। सुरु–सुरुमा आयोडिनको कमीले गर्दा हुने गलगाँडको समस्यालाई बन्दा, काउली बार्नुपर्छ भनिन्थ्यो । तर अहिले त्यस्तो हुँदैंन । अहिले देखिने थाइराइडको समस्यालाई खानामा त्यस्तो केही पनि बार्नुपर्दैन।

उपचार
हर्मोन कमीको समस्यालाई ट्याब्लेटबाट पूर्ति गर्छौं । हर्मोन बढीको समस्यालाई भने दुइवटा उपचार छन्स् एउटा औषधि खाने र अर्को ग्रन्थी सुकाउने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार