स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

बागलुङ, । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ ।

अनमी मुना थापा तालिममा सहभागि हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आएकी छिन् । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सुरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।

विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताए ।

“एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ”, अध्यक्ष श्रीसले भने, “भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ ।” उहाँले जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताउनुभयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार