पूर्वप्रधानमन्त्री झलनाथ खनाल अक्सिजनको सपोर्टमा

अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ ।

नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारेर अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ ।

सामान्य अवस्थामा रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

नेता खनाल गत वैशाख १८ गते कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएर उपचारपछि निको भई वैशाख २८ गते घर फर्किएका थिए ।