भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । १० दिनमा नवौं पटक मूल्यवृद्धि भएको हो । यसपटक पेट्रोल र डिजेलको मूल्य झण्डै ८० पैसाले बढेको छ । यसरी पछिल्लो १० दिनमा तेलको मूल्य प्रतिलिटर ६.४० रुपैयाँले बढेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा ८० पैसाले बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१.८१ रुपैयाँ र डिजेलको मूल्य ९३.०७ रुपैयाँ पुगेको छ ।
मुम्बईमा ८४ पैसा बढेको छ । पेट्रोलको मूल्य ११६.७२ रुपैयाँ र डिजेलको मूल्य १००.९४ रुपैयाँ प्रति लिटर पुगेको छ । चेन्नईमा तेलको मूल्य ७६ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७.४५ रुपैयाँ र डिजेल ९७.५२ रुपैयाँ प्रतिलिटर रहेको छ ।
कोलकाताको कुरा गर्दा त्यहाँ पेट्रोल र डिजेलको मूल्य ८३ पैसाले बढेको छ । यहाँ पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १११.३५ रुपैयाँ र डिजेलको प्रतिलिटर ९६.२२ रुपैयाँ पुगेको छ ।
पछिल्लो १० दिनदेखि सरकारले पेट्रोल र डिजेलको मूल्य क्रमशः बढाउँदै लगेको छ । दैनिक करिब ७५ देखि ८० पैसाले मूल्य बढेको हो ।
सरकार चुनाव सकिएपछि पेट्रोल र डिजेलको मूल्यवृद्धि गर्ने पर्खाइमा रहेको विपक्षी दलले आरोप लगाएका छन् ।