नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई।१ नाम पनि दिइएको छ । हालसम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा वढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ । यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएको हो ।














