राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनविपरीत नागरिकलाई सडकमा उभ्याएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णयको विरोध गरेका छन् ।
गृहमन्त्रीको निर्देशनमा ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ ।
त्यसको आलोचना गर्दै सांसद खतिवडाले कानुनी राज्यमा फेसबुकबाट निर्देशन दिएर कानुनविपरीत नागरिकलाई सडकमा उभ्याउन नमिल्ने बताए । खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताए । ‘कार्यकारीलाई काम गर्न रोक्ने हाम्रो नियत होइन । तर कानुनसम्मत काम गर्नुपर्छ भन्ने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’
कानुनी राज्य कसैको सनकका भरमा नचल्ने भन्दै उनले भने, ‘कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन । अहिले सडकमा मान्छेहरूलाई कुनै मन्त्री, उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुकासम्म कानुनविना ठिङ्ग्याएर राख्ने पद्धति सरासर गलत छ । मापसे गर्यो भनेर त्यसलाई सडकमा ठिङ्ग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकार हनन हो ।’
गृहमन्त्री लामिछानेले जेठ १५ गते गणतन्त्र दिवसका अवसर पारेर अबदेखि महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाउने कुरा सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा पोस्ट गरेका थिए ।
गृहमन्त्रीले सामाजिक सञ्जालबाट पोस्ट गरेको उक्त कुरालाई बुधबारदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयनमा ल्याउँदै कारबाहीमा परेका सवारी चालकलाई काठमाडौंका विभिन्न चोकमा ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गरेको थियो ।













