भारतबाट गाडी चोरी नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

नेपाल प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली कागजातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौंमा गाडी ल्याई नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयारी गरि कारोबार हुने गरेको विशेष सुचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिए ।

पक्राउ पर्नेमा लमजुङ घर भई हाल सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भई हाल शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् । पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होला ग्राम, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको खापुङले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

यस्तै प्रहरीले ईटाली पठाईदिन्दु भनी तीनजनासँग रु ३१ लाख ५० हजार रकम लिएर अजरवैजानसम्म पुराई बिचल्ली बनाउने एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ गर्नेमा उदयपुर घर भई हाल बुढानिकण्ठ बस्ने उमेश रेग्मी रहेका प्रहरीले जनाएको छ ।