धूम्रपानको लत छुटाउन अपनाउनुहोस् यस्ता सरल उपाय

भन्ने गरिन्छ– चुरोट, सुर्तीको लत बसेपछि छुटाउन सजिलो हुादैन । तर, दृढ इच्छाशक्ति भएमा र अठोट गरे संसारमा गर्न नसक्ने केही हुदैन पनि भनिन्छ । त्यसैले, चुरोट, सुर्तीको लतबाट मुक्ति लिने हो भने धुम्रपानले गर्ने खराबी र त्याग्दाका फाइदाबारे राम्रो जानकारी लिनुपर्छ ।

धुम्रपान त्याग्छु भनेर पहिले मानसिक रूपले तयार हुनुपर्छ । चुरोट त्याग्ने दृढता र आत्मबल जुटाउनु सबैभन्दा महत्त्वपूर्ण कार्य हो । धुम्रपान नियमित गर्दा हुने हानि र यो छाडेपछि पाइने फाइदाबारे पूर्ण जानकारी लिनु आवश्यक हुन्छ । धुम्रपान त्यागेपछि फाइदा मिल्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ । आफ्नो कोठा, घर, अफिसमा धुम्रपानसँग सम्बन्धित चुरोट, सुर्ती, खैनी, एस्ट्रे, सलाई, लाइटर, हुक्कालगायत कुनै पनि चिज राख्नु हुँदैन ।

धुम्रपान त्याग्ने दिन पहिल्यै निश्चित गर्नुपर्छ भोलिको दिन आफ्नो लागि सदा स्मरणीय रहने दिन होस्, आफ्नो प्रिय व्यक्तिसँग सम्बन्ध रहेको दिन होस् अथवा आफ्नो लागि महत्त्वपूर्ण मिति, तिथि होस् । यो दिन धुम्रपान त्याग्ने शुभ साइत होस् । त्यसपछिका दिनको कार्ययोजना पनि तय गर्नुपर्छ । धुम्रपान त्याग्ने एक दिन मात्र होइन, यो सदाका लागि हो, लामो योजना र प्रक्रिया हो भन्ने सोच्नुपर्छ । रक्सी र कफी नपिउने, किनभने यस्ता पेय पदार्थले धुम्रपान गर्ने इच्छा पैदा गराउँछ । आफूले सधैँ चुरोट किन्ने गरेको पसलतिर जानु हुँदैन । चुरोट, सुर्ती किन्नु हुँदैन र अरूसँग माग्नु पनि हुँदैन । आफूलाई कुनै नयाँ र मन पर्ने काममा व्यस्त राख्नुपर्दछ । फुर्सद भयो कि त्यही काम गर्नुपर्दछ । धुम्रपान त्यागेको तीन महिनासम्म कुनै पनि भोज–भतेर, चुरोट, रक्सी पिउने जमघटमा जानु हुँदैन ।

दैनिक योगासन, प्राणायाम र ध्यान गर्नुपर्छ । चुरोटको लत छुटाउन योग अभ्यास अत्यन्त प्रभावकारी हुन्छ । चुरोट छुटाउने ध्यान पद्धतिको विकास भइसकेको छ । सम्बन्धित विज्ञसँग यसको सूत्र हुन्छ । यो सिक्नु र दैनिक अभ्यास गर्नुपर्छ । यसबाट धुम्रपान छोड्दा उत्पन्न हुने शारीरिक र मानसिक पीडालाई नियन्त्रण गर्न सकिन्छ ।

अन्य जानकारी
धुम्रपान छोड्दा केही दिनमै तलतल लाग्ने, छटपटी हुने, शरीरमा अप्ठ्यारो अनुभव हुने हुन्छ । यो तलतल र छटपटीलाई कसरी मेटाउने भन्ने जानकारी हुनुपर्छ । सुर्तीको लत बसेकाले तलतल लागेका वेला पानी पिइराख्ने तथा फलफूल खाने गर्नुपर्छ । पानीको भाडो र फलफूल आफ्नै नजिक व्यवस्था गरिराख्नुपर्छ । ल्वाङ, सुकमेल या दालचिनी मुखमा राखेर खेलाउँदा पनि समाधान हुन्छ । धुम्रपान छुटाउन सहयोग पुग्ने औषधि (चक्की) को सेवन डाक्टरको सल्लाहमा गर्न सकिन्छ । प्राणायाम र ध्यान गर्नु फलदायी हुन्छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार