सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागू हुने भएको छ । गत जेठ १ गतेबाटै नयाँ व्यवस्था लागू गर्ने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागू हुन सकेको छैन ।
अब लिइने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए । यसअघि ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब परीक्षामा उत्तीर्ण हुने दर बढ्ने अनुमान गरिएको छ ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक) मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । सूचना अधिकारी भुसालले भने, “साना र ठूला दुवै सवारीका लागि ५५ सय प्रश्न हामीले विभागको वेबसाइटमा राखेका छौँ । तीनै प्रश्नबाट २०/२० वटा प्रश्न आउनेछन् । प्रत्येक प्रश्न ५ नम्बरको हुनेछ ।