किएभको सबै क्षेत्र फेरि आफ्नो नियन्त्रणमा आएको युक्रेनको दाबी

युक्रेनी अधिकारीहरूले राजधानी किएभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन्। केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको हो।

“पूरै किएभ क्षेत्रलाई आक्रमणकारीबाट मुक्त गरिएको छ,” युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले शनिवार भनिन्। शान्तिवार्तामा सद्भावको सङ्केत देखाउँदै रुसले किएभनजिक रहेका क्षेत्रहरूबाट आफ्नो फौज फिर्ता गर्ने बताएको छ।

तर पश्चिमा विश्लेषकहरूले त्यसअघि नै रुसको आक्रमण रोकिएको बताएका थिए। आइतवार बिहान कृष्णसागरको तटमा रहेको बन्दरगाह सहर ओडेसामा विस्फोटनहरू भएको सुनिएको छ। किएभ वरपरका प्रमुख स्थानहरूको अवस्थाबारे यहाँ उल्लेख गरिएको छ।

अधिकारीहरूका अनुसार किएभको पश्चिमोत्तर सहर इर्पिनमा रुसी आक्रमण सुरु भएयता झन्डै २०० सर्वसाधारण नागरिकको ज्यान गएको छ। मध्यम वर्गीय समुदायको बसोबास रहेको यो सहरका ७०,००० बासिन्दामध्ये अधिकांशले रुसी बमबारी चलिरहँदा गत महिना नै यो ठाउँ छोडिसकेका छन्। इर्पिनका धेरै आवासीय भवनहरूमा क्षति पुग्नुको छ वा ध्वस्त भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिवार गरेको सम्बोधनमा रुसको आँखा युक्रेनको पूर्वी र दक्षिणि भेगमा परेको टिप्पणी गरेका छन्। “रुसी सैनिकहरूको लक्ष्य के हो? उनीहरू डोन्बास र युक्रेनको दक्षिणी कब्जा गर्न चाहन्छन्,” उनले भने।

उनका अनुसार युक्रेनले पनि आफ्नमो ध्यान पूर्वतिर दिन थालेको छ। “शत्रुसँग पूर्वमा दबाव बढाउन जगेडा छ भन्ने हामीलाई थाहा छ,” उनले भने। यूकेको रक्षा मन्त्रालयले युक्रेनमा जारी द्वन्द्वबारे थप जानकारी दिएको छ।

सैन्य गुप्तचर संयन्त्रले उपलब्ध गराएको सूचनाका आधारमा यूकेले रुसी वायुसेना युक्रेनको दक्षिणपूर्वमा सक्रिय भएको देखिएको बताएको छ। त्यसको अर्थ रुसको रणनीति फेरिएको उसको बुझाइ छ। बीबीसी नेपाली

सम्बन्धित समाचार