कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) शनिवार रिहा भएका छन् । उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो ।
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो ।
प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो । अदालतले दीपकको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै उनी छुटेका हुन् ।
२०३७ सालदेखि इलामको एकतप्पास्थित घरबाट तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् । त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए ।
त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए । उनलाई बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए ।