कर्णाली प्रदेशसभाको आठौं (बजेट) अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको हो ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो। सोही सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मध्यराति सूचना जारी गर्दै असार ३० गते राति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
पछिल्लो एक महिनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा छलफल नै हुन पाएन ।
एमालेको अवरोधकै कारण प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेको छ । सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेका छन् ।