एमाले संसदीय दलको बैठकमा अदालतमाथि खनिए ओली, जनादेशलाई उपहास गरेको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यता विपरित जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् ।

उनले मुलुकलाई निर्दलियतातर्फ लैजाने षड्यन्त्र भइरहेको जिकिर गरेका छन् । त्यस्तै उनले एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उनले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए । ‘एमालेविरूद्ध अझ धेरै षडयन्त्र सुरू हुनेछ । सदन छोटो समय बसेर टुङ्ग्याउन सक्छन् । अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन् ।  प्रदेश र स्थानीय तहमा पनि दु:ख दिन सक्छन् ।  झुठको खेती चल्नेछ । दमनको सुरुवात हुनेछ,’ उनले भने ।

ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्व अभ्यास भइसकेको समेत उनले बताए । त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको पनि आरोप लगाएका छन् । आफु नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अबको सरकारले त्यसकाले जस लिने तर्क गरे ।

बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाई छ । बाढी र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिँदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए ।

उनले खोपको प्रबन्ध भइसकेको अवस्थामा सबै नागरिकमा खोपको पहुँच पुर्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिएका छन् । बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागीता रहेको थिएन ।