नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच अनौपचारिक छलफल भएको छ ।
शनिबार सिंहदरबारमा भएको छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । ‘एमालेलाई एकतावद्ध गर्न आम पार्टीपंक्ति चिन्तित छ । अनौपचारिक भेटघाट गरेका हौं । यो पार्टीलाई एकताबद्ध बनाउन चिन्ता व्यक्त गर्नु र प्रयत्न गर्नु स्वाभाविक हो,’ विष्टले भने ।
आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकताबद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सबल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगेका छौं । हामी सोही रुपमा अघि बढछौं”, उनले भने ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राखेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । दुवै बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरु भने गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।