अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया सम्झना नेपालीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । नेपालीले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी सहायक निरक्षकका अमृत कुँवरले बताए ।
“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो”, कुँवरले भने , “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” नेपालीका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।
केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।















