जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो निर्वाचन आयोगले आज लगाउने भएको छ । बिहान ११ बजे जसपा विवाद निरूपणबारे इजलास बैठक राखिएको छ । त्यसका लागि जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।
पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ हुन लागेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ । विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो ।
इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन् ।
जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । जसपाका ३२ सांसदमध्ये यादव उपेन्द्र पक्षमा १७ सांसद रहेका छन् भने महन्थ ठाकुर पक्षमा १५ सांसद छन् ।शनिबार मात्रै जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद् गुट परिवर्तन गर्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका थिए ।
पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज सहभागी भएका थिए ।















