नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह नेपालको निवास कोटेश्वरमा छलफलमा जुटेको हो ।
नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।
माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय लिइने उनले बताए ।
यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभामार्फत विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव समूहको साथ आवश्यक छ । यसअघि माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिइसकेका छन् ।
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ । आजकै बैठकबाट प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।