कांग्रेसले सभामुखको अपमानदेखि केपी ओलीमाथि भौतिक आक्रमको प्रयास गरेको भन्दै एमाले सांसद्को आपत्ति

नेकपा ९एमाले० का नेता एवं प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘वैरागी’ ले संसद् अवरोधका कारण सदनमा जनताको जनजीविकाको कुराहरु उठाउन नपाएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसद् अवरोधका नाममा कांग्रेसले सदनमा सभामुखको अपमान गर्नेदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक आक्रम गर्नेसम्मका गतिविधि गरेको भन्दै आपत्ति जनाए ।

‘यो सदन किन अवरुद्ध भयो ? के मागलाई लिएर अवरुद्ध भयो ? कसले अवरुद्ध गर्यो ? अवरुद्ध भएको समयमा के–के विषयहरु अवरुद्ध भए भन्ने बुझिएकै छ । सभामुखले दिएको समयलाई दयाको, भिखको समय चाहिँदैन भनेर अपशब्द बोलेको हामीले सुनियो । यसले सदनको गरिमा बढायो कि के गर्यो भन्ने आफैंले मूल्याङ्कन गर्ने कुरा हो । त्यतिमात्रै होईन, सत्ता साझेदार दलको मुख्य नेतामाथि नै भौतिक आक्रमण गर्ने जसरी गरेर अपशब्द बोल्ने काम गरियो,’ उनले भने ।

साथै, कांग्रेसले जनता सहभागी सहकारीमाथि प्रहार गरेको उनले बताए । ‘छानविन समिति बनेको छ । यसको कार्यसूची पनि बनेको छ । त्यहाँ केही सहकारीको नाम पनि राखिएको छ । तर, त्यो भन्दा बाहिरको सहकारीको समस्या कसरी समाधान गर्ने ? आज सहकारीमाथि किन हानियो ? जनता सहभागी सहकारीमाथि किन हानियो ? यो विषय गम्भीर छ,’ उनले भने ।