जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा देउवाले राखेको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै ठाकुरले समर्थनमा मत दिने बताएका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु । र, मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ । त्यसको समर्थनमा मत दिन्छु,’ उनले थपे, ‘मत तपाईंहरूलाई दिन्छौं तर हामी आफू घायल बनिरहेका छौं ।’
उनले अहिले देशमा देखिएको संकट संविधानकै कारण आएको दावीसमेत गरे । संविधानको कुनै पनि धारा कार्यान्वयनमा जाँदा त्यहाँ व्यवधान र अवरोध देखिने गरेको भन्दै उनले संविधान संशोधन हुनुपर्ने आफ्नो माग कायम रहेको बताए ।














