प्रधानमन्त्री देउवालाई गगन थापाको अनुरोध- बालुवाटारमा पार्टीको बैठक नराख्नुस्

नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

आज बिहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बलुवाटारबाट नगर्न अनुरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला ।’

कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन् । पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो ।