नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १०औं केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।
महासचिव पोखरलले भने,‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरु पनि घटदैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमाले भित्रका कतिपय व्यक्तिहरुले गर्नु भएको छ । यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौं ।’
आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठनिक जीवनमा माफी दिन नसकिने घटना भएको पोखरेलले बताएका हन् । उनले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिएका छन् ।














