खोप दातालाई धन्यवाद दिँदै थप सहयोग उपलब्ध गराउन आह्वान गर्ने सरकारको निर्णय

सरकारले खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराइदिन निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको उनले जानकारी दिए । भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीन वटा उडान सञ्चालनको अनुमति दिने निर्णय भएको उनले बताए ।

उनले यसअघि नियुक्त गरिएका ११ जना राजदूत नियुक्ति खारेज गर्ने निर्णय यसअघिको बैठकमा भएको पनि जानकारी दिए । ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको छ ।