विषाक्त रक्सीको सेवनको कारण गम्भिर बिरामी परेका दुई जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ ।
बागलुङको गल्कोट नगरपालिका ७ मल्ममा सोमबार दिउँसो खाजासँगै सेवन गरेको विषाक्त घरेलु रक्सी सेवनबाट ४ जनाको मृत्यु भएको थियो भने दुई जना गम्भिर बिरामी परेका थिए । गम्भिर बिरामी हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुन रहेका छन् । उनीहरुको किड्नीमा असर देखिएकोले थप उपचारका लागि मंगलबार बिहान पोखरा पठाइएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
विषालु मदिरा सेवन गरेका चार जना मजदुरको भने सोमबार राति नै ज्यान गएको छ । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।













