सांसद पदबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने घोषणा गरेकी हुन् ।
मंगलबार सामजिक सञ्जाल फेसबुकमार्फत लहान नगरपालिकाका जनता मेयर मुनी साहबाट पीडित भएको बताउँदै चुनाव लड्ने बताएकी हुन् । उनले चुनावमा जितेर अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु । लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन । उनको अधिनायकवादलाइ जनताले परास्त गर्ने छ । अब ५ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने छु ।’
उनले आफूसँग सहयोग र सम्पर्कका लागि अपील समेत गरेकी छन् ।उनले अगाडि लेखेकी छन्,‘म सबैसँग आजको दिनदेखि सहयोग र सम्पर्कका लागि हार्दिक अपील गर्दछु । स्थानीय स्तर मा लोकतन्त्र, समय सुहाँउदो विकास नीति र पारदर्शिता नभयी सबैको विकास हुन सक्दैन ।’ स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभए सबैको विकास हुन नसक्ने उनले बताएकी छन् ।
गिरी यसअघि प्रतिनिधि सभा सदस्य थिइन । समाजवादी पार्टीबाट सांसद बनेकी गिरीलाई २०७७ को असारमा पार्टीले हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् । त्यसलगतै उनलाई कारबाही गरिएको थियो ।
















