माधव नेपालले भने– बुढानीलकण्ठको बैठकलाई लिएर कोही आत्तिनुपर्दैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले विपक्षी गठबन्धनमा आफ्नो पार्टी सहभागी हुँदा कोही आत्तिनुपर्ने अवस्था नभएको जिकिर गरेका छन् ।

आइतबार काठमाडौंमा पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए । ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्,’ उनले भने, ‘हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’

अध्यक्ष नेपालले मधेस प्रदेश सरकारले २३ गतेभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसबारे छलफल भइरहेको बताए । ‘एउटा बैठकको आयोजना भएको हो, हामी महत्त्वपूर्ण घटक भएको कारणले हामीसँग पनि छलफल भएको हो,’ अध्यक्ष नेपालले भने, ‘सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, अनर्गल रुपमा कसैले आत्तिन पर्ने अवस्था छैन ।’

साथै, उनले प्रधानमन्त्री प्रचण्डले विपक्षी गठबन्धनसँग फाइनल कमिटमेन्ट नगर्न आग्रह गरेको पनि सुनाए ।

‘मैले प्रधानमन्त्रीलाई असहमझदारी नहोस् भनेर फोन गरेको थिएँ, उहाँले सम्पर्क सम्बन्ध राख्नैपर्छ, तर कमिटमेन्ट चाहिँ फाइनल नगर्नुहोला भन्नुभयो,’ नेपालले भने । विश्वास र समझदारीबाटै अघि बढ्नुपर्ने उनले बताए ।