नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष ओलीले साउन ५ गतेको मिति राखेर वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाएका हुन् । तर स्पष्टीकरण पत्रमा उनले विश्वासको मतबारे नसोधेर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएका छन् ।
‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलाप सञ्चालन गरेरगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेरगराएको, विपक्षीसँग साठगाँठ गरेरगराएको, केन्द्रीय जनप्रतिनिधि संस्था तथा पार्टीको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्य निरन्तर गरिरहेकाले किन कार्वाही नगर्ने,’ स्पष्टीकरण पत्रको बेहोरामा भनिएको छ ।
पत्रमा २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।
















