संखुवासभाको भोटखोलामा पहिरोले एउटा घर र दुई स्वास्थ्य केन्द्र पुर्‍यो

संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिएका छन् ।

शुक्रवार र शनिवार भएको लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण भोटखोला–४ स्थित सेम्बुङ गाउँमा एउटा घर पुरिएको छ । बाढी पहिरोले भोटखोला–४ सेम्बुङका रिदर ज्याबु भोटे पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । पहिरोबाट विस्थापित भोटे अहिले छिमेकीको शरणमा रहेका छन् । 

बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडीसमेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष भोटेले बताए । 

पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरणमा क्षति हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष भोटेले बताए । 

पहिरोले भोटखोला–४ मा  निर्माणाधीन ५ शय्याको अस्पताल पुरिएको उनको भनाइ छ । भोटखोला–४  छोङराङमा ग्रामीण विद्युत कम्पनिको सामग्रीसमेत बगाएको छ । 

बाढी पहिरोले भोटखोलाका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ । बाढी पहिरोले के कति क्षति भएको छ भन्ने एकिन विवरण आइसकेको छैन । 

घटनास्थलमा प्रहरी र वडाध्यक्षहरुले क्षतिको विवरण सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष भोटेले बताए। पहिरोले भोटखोलाका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् ।