शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने

सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ ।सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।

टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।

परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।

सम्बन्धित समाचार