भोजपुर । भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन् । भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताए। छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उनको भनाइ छ । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन् ।
“आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ । उनीहरुलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छन्”, उनले भने, “आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशु झैँ खोरमा राख्नु परेको अवस्था छ ।” उनीहरुलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरुलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुबा छत्रबहादुरको भनाइ छ ।
“उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप लागेन”, उनले भने, “घरको आर्थिक अवस्था कमजोर छ । उपचारमै पैसा सकियो । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ।” उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो । अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको बुबा चौहानको भनाइ छ । सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा छ, उनले भने । काठमाडौंमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरुलाई घरमा ल्याएर राखेको बुबा चौहानले बताए । उनीहरुलाई नियमित रुपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उनको भनाइ छ ।
लामो समयदेखि मानसिक रोगले भेटेपछि परिवारमा पीडा थपिएको उनले बताए । उनीहरुलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप देखाउने गरेको बुबा चौहानले बताए । परिवारमा भएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरालाई मानसिक समस्या भएको उनले बताए । माइलो छोरा भने छुट्टिएर गएकाले अहिले परिवारभन्दा बाहिर बस्दै आएको उनको भनाइ छ । मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइ लगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि राज्यले अपाङ्गता परिचयपत्रसमेत नदिएको बुबा चौहानको दुःखेसो छ ।
साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए ।