राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल चल्दै गर्दा दिक्क लागेर आफू एकछिन निदाएको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि छलफल जारी छ ।
बजेटमाथिको छलफलमा भाग लिँदै रोस्टम पुगेर बोलेका केसीले अर्थमन्त्रीले पेस गरेको बजेट जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफल औचित्यहीनजस्तो देखिएको पनि बताए ।
‘यहाँ जति उफ्रे पनि सत्तापक्षले पेस गरेको बजेट एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो,’ केसीले भने, ‘आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन । यस्तो पो हुन गयो । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’
केसीले ऋण लिएर संघीयता धान्ने कुरा सम्भव नभएको दाबी गरेका छन् । उनले संघीयता देशले धान्न नसक्ने प्रष्ट भइसकेको हुँदा अझ ऋण लिएर देश चलाउने कुरा कल्पना भन्दा बाहिर भएको बताए ।
‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ । त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न’, उनले भने ।