अमेरिकी रक्षा विभागका अधिकारीले युक्रेनको राजधानी किभ र चेर्निहिव शहरबाट अब रुसी सेना पूर्ण रुपमा फिर्ता भइसकेको दाबी गरेको छ ।बुधबार मिडियासँगको कुराकानीमा पेन्टागनका अधिकारी जोन किर्बीले भने, ‘किभ र चेर्निहिव नजिकैबाट रुसको सेना पूर्ण रुपमा फिर्ता भइसकेको छ । ’
उनले भने, ‘हामीले किभ र चेर्निहिवमा रुसी बल देखिरहेका छैनौँ ।’
उनका अनुसार रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा विफल रहे । किर्बीले भने, ‘उनीहरुले सानो जनसंख्या भएका इलाकामा नियन्त्रण गरिरहेका छन् । खारकिभ पनि उनीहरुको नियन्त्रण रहेन ।’
अमेरिकाको यो बयान यस्तो समय आएको छ जब केही दिन अघि मात्रै रुसले अब आफूहरु युक्रेनको पूर्वी हिस्साको डोनबास क्षेत्रमा आफ्नो प्रयास बढाउने बताएको थियो ।
पेन्टागनका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा भने, ‘रुसी सेना भविष्यमा पुनः किभतर्फ बढ्न सक्छ । यद्यपि, उनले सेना फिर्ता हुने नहुने भन्नेमा हाल स्पष्ट जानकारी छैन । अधिकारीले बताए अनुसार युक्रेन पठाइएका रुसी सेनाको १३० बटालियनमध्ये ८० अहिले पनि देशभित्रै छन् । ’
एक अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी असोसिएटेड प्रेसले हालसम्म रुसले आफ्नो २४ हजार जवान युक्रेनबाट फिर्ता बोलाएको छ ।