नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले पौडेललाई कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् स्रोतले बिहीबार राति बसेको मन्त्रिपरिषद्‌ले पौडेललाई टेलिकमको प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै टेलिकमको नेतृत्वमा आएका हुन् ।

सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । मन्त्रालयले बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो ।

टेलिकमलाई प्रतिस्पर्धी बजारमा गुणस्तरीय सेवासहितको उत्कृष्ट कम्पनी बनाउन खुला प्रतिस्पर्धामार्फत प्रबन्ध निर्देशक बनाउनेगरी विनियमावली संशोधन भएपछि यसका केही बुँदाविरुद्ध सर्वोच्चमा रिट दर्ता भएपछि छनौटको प्रक्रिया अवरुद्ध भएको थियो ।

गत चैत्र १६ गते यसको विरुद्ध परेको रिट खारेज भएपछि अन्तरवार्तामार्फत सरकारले तीन जनाको नाम सर्ट लिस्टमा राखेकोमा बिहीबारको मन्त्रीपरिषद् वैठकमार्फत पौडेल प्रबन्ध निर्देशक बनेका हुन ।

टेलिकम भित्रैको व्यक्तिलाई अघि बढाउनुपर्ने भन्दै आएका नेपाल टेलिकमका कर्मचारी पौडेलको नियुक्तिप्रति असन्तुष्ट देखिए पनि नयाँ सोच र क्षमता राख्ने पौडेलको नेतृत्वमा नेपाल टेलिकमले थप उचाइ लिने धेरैको अपेक्षा छ ।

सम्बन्धित समाचार