रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले साउन १९ गते आचरण विपरित कार्य गरेको भन्दै उनलाई स्पष्टीकरण थियो ।

तर, भट्टराईले सरकारको उक्त स्पष्टीकरणको जवाफ नदिइ राजीनामा दिएका हुन् । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् । उनले आजकै मितिबाट नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएको जनाएका छन् ।

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।