लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन अन्त्य भएको हो ।
दिउँसो एक बजेर १५ मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।
विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । सत्तारुढ नेकपा एमालेले बहिस्कार गरेको प्रदेशसभामा मुख्यमन्त्री पनि अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए । सभामुख घर्तीले प्रदेशसभाको दोस्रो बैठक सुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको छ ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको सरकार बनाउन आह्वान गर्नेछन् ।














