लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसी र मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहकाबीच मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री  केसीलाई  संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्।

माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् ।

उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । डिल्ली चौधरीले ग्रामिण विकास तथा सहरी विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। सहसराम यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको रूपमा सपथ लिएका छन्।

यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।  संविधानको धारा १६८ को २  अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

यस्तै गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा काँग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्ने भएको छ । सुरुवातमा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री र त्यसपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियालाई मुख्यमन्त्री बनाउने निर्णय भएको छ । फागुन ३ गते प्रदेशसभा दिवस र जनयुद्ध दिवस मनाएपछि केसीले मुख्यमन्त्रीबाट राजीनामा दिने सहमति भएको छ ।