नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सत्ता समीकरण कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६-८ महिनामा नै सरकार ढल्ने र बजेटको जिम्मेवारी आफूहरुले लिनुपर्ने अवस्था आउने दाबी गरेका थिए । त्यहि दाबीलाई जवाफ दिँदै बर्तौलाले पशुपतिमा सरकार ढलोस् भनेर हालेको धूप-अक्षताले काम नगर्ने दाबी गरे ।
‘बजेटको बारेमा धेरथोर टिप्पणी गर्दा सत्तापक्षका भन्दा धेरै चिन्ता प्रतिपक्षीमा भएका साथिहरुलाई भएछ । मैले सुने ६-८ महिनामा यो बजेटनै आफैले बोक्नुपर्ने हो कि ? आफैले कार्यान्वयन गर्नुपर्ने अवस्था पो आईलाग्ला कि । यसकारण अहिले धेरै आलोचना नगरौं । केही प्रश्नमात्रै गरौं भन्ने कोणबाट पनि विपक्षी बेञ्चका माननीयज्यूहरुबाट हामीले सुन्न पायौं’ उनले भने ।
‘म माननीयज्यूलाई भन्न चाहान्छु । यो सत्ता समीकरण त्यती कमजोर डोरीबाट बनेको छैन् । यो बलियो डोरीबाट बाँधिएको विश्वासको साथ अगाडि बढ्ने संकल्प गरेर अघि बढेको हो । माननीयज्यूहरुले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर सरकार आजै ढलोस् भोलिनै ढलोस् भनेर जे चाहिरहनु भएको छ । सामान्य बजेटमाथि केही सुझाव राख्नेवित्तिकै ढलिहाल्छ भन्ने कोणबाट र जिम्मेवारी मेरै काँधमा आईहाल्छ भन्ने तवरले जे टिप्पणी गरिरहनु भएको छ । त्यँहासम्म पुग्ने परिस्थिति छैन्’ ।
प्रमुख सचेतक बर्तौलाले बजेटमा सत्तापक्षले जतिसुकै प्रश्न पनि उठाउन पाउने बताउँदै ढुक्कका साथ पारित गराउने बताए । ‘बजेटमा धेरै प्रश्न उठेका छन् । संयुक्त सरकारले ल्याएको बजेटमा सत्तापक्षको एउटा प्रमुख घटक दल नेकपा एमालेले बजेटप्रति आक्रोश व्यक्त गरेको छ । असन्तुष्टि व्यक्त गरेको छ । यसप्रति भारी नकरात्मक टिप्पणी गरेको छ भन्ने प्रसंग उठेका छन्’ उनले भने ‘म यसबारेमा भन्न चाहान्छु । हामी सरकारमा छौं त्यसकारण यो बजेटलाई जस्ताको त्यस्तै पारित गर्न चाहान्छौं । हामी सरकारमा छौं । व्यवहारीक रुपमा दिन खोलेर बजेटको पक्षमा मतदान गछौं’ ।