नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वामदेव गौतमजस्तो घर न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर पार्टीभित्र संघर्ष गरिरहेको बताएका छन्।
शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।
‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने रु न रुन सकिने न हाँस्न सकिने र? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ । उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।
यस्तै उनले कम्युनिष्ट पार्टीमा व्यक्तिवादी हावी भएको टिप्पणी गरे। नेता नेपालले भने, ‘समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुल्यो। अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ। यहाँ सत्ताको मात मौलाएको छ।’
तर, आफूहरुले जनताको सात नछाडेको जिकिर गरे। समस्यालाई छाडेर भाग्ने प्रवृत्तिको आफू नभएको उनको भनाइ छ। पार्टीभित्रको नोकरशाही प्रवृत्ति हावी भइरहेको उनको भनाइ छ। गलत प्रवृत्तिविरुद्ध कहिल्यै पनि सम्झौता गर्न नसक्ने नेता नेपालले बताए।















