बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ आज देशभरको मौसम

देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक/दुई स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको विभागको भनाइ छ ।