निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि आज उपस्थित हुन भनेको छ ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
भारतमा उपचाररत् झलनाथ खनालको हकमा कसरी सनाखत गर्ने भन्नेबारे आयोगले केही बताएको छैन । आज सनाखत सकेर आजै दल दर्ता गर्ने निर्वाचन आयोगको तयारी छ ।
माधव नेपालको दल दर्ता भएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने भएकोले निर्वाचन आयोगले झण्डै ४५ दिन लाग्ने दल दर्ताको प्रक्रिया छोट्याएर फाष्ट ट्र्याकबाट काम अघि बढाएको हो ।
सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।