नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । संगठन विभाग प्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ ।
पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन् । माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए ।
यस्तै अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहेका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा बाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, प्रवक्तामा कृष्ण बहादुर महरा, संगठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् ।
पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको हो ।
प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन् । त्यहाँ अध्यक्ष तोक्न बाँकी छ । बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन् ।
गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकेको माओवादीले जनाएको छ । साथै लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छन् ।
कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् भने सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन् । त्यहाँ अध्यक्ष तोक्न बाँकी छ । अधिकांश प्रदेशमा सहईञ्चार्ज तोकिएका छन् तर सचिव चयन गर्न बाँकी राखिएका छन् ।