सनाखतका लागि चन्द्रागिरिबाट हिँडे माधव नेपाल समूह

चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग हिँडेका छन् । आयोगले सनाखतका लागि बिहान ११: ३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ।

गत सोमबारदेखि नै चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चलेको थियो। दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए।

नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो। सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।