नेपाली कांग्रेसको संस्थापन इतर समूह छुट्टै छलफलमा जुटेको छ । पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू छलफलमा जुटेका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू सिंहलगायत उपस्थित छन् ।
कार्यतालिकाअनुसार भदौ १८ बाट हुने भनिएको वडा अधिवेशनका विषयमा निर्वाचन समितिले गरेको तयारीबारे पौडेल समूहले ब्रिफ्रिङ लिन लागेको जनाएको छ ।
बैठकमा वरिष्ठ नेता पौडेलले क्रियाशील विवाद समितिले बुझाएको प्रतिवेदनबारे नेताहरूलाई जानकारी गराउनेछन् । यस्तै क्रियाशील सदस्यतालाई लिएर धर्नामा रहेका जिल्ला सभापतिहरूको आन्दोलन कसरी सशक्त बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।