नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले नेताहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन् । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घरघरबाट मान्छे उठाएर बलजफ्ती डाँडामा लगेर थुनेको आरोप लगाउँदै ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको बताएका छन् ।
‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ । त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ’, उनले भने, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो । यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो ।’
कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् । यस्तो खाले काम भएको छ । यो असंवैधानिक र अलिकतान्त्रिक काम हो ।’