नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ५४ केन्द्रीय सदस्यले गरे सनाखत

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।

नेकपा एमालेले दलत्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्नेछ ।

यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतमा उपचारको क्रममा रहेका उनले दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।